डियर इनाम II

डियर इनाम
गाउँमा मन त लाग्दैछ नि तिम्रो ? तिमी भेटेदेखि मेरो मन पनि कामधन्दामा लागेको छ, आफूलाई राम्री पार्न, श्रृङ्गार गर्ने काममा पनि मन लागेको छ । सत्य, जिउ पनि हलुङ्गो लाग्छ । मतिर आँखा तरिरहने छिमेकी पनि मलाई हेर्दै मुस्कुराए भैंm लाग्छ । लाग्नु साह्रै मिठो अनुभूति रहेछ । किन यस्तो लाग्छ कि, तिमी मेरै लागि गाउँ फर्किएका हौ ।
आज पधेँरा भन्दा माथि उकालोमा भेटियौं हामी । नबोलेरै बोलेका ती दुइ आँखामा हेरेर घण्टौं उभिइरहन पाएको भए ? मुखले नबोलेका कति कुरा आँखाले बोल्छन् । आँखाका ती भाषा कति सुन्दर अनि सुललित हुन्छन् हगि इनाम ? काँधमा गाग्रो बोकेर उकालोमा तिमी अडिएथ्यौ । ढाकरमा रित्तो गाग्रो बोकेर ओरालोमा अडिएँ म पनि । तर मेरो मन भने तिमीलाई देखेपछि अडिएन । त्यो कस्तरी छिटो छिटो कुँद्न थाल्यो । इनाम के तिम्रो मन पनि कुँदेको थियो मलाई नजिकमा पाउँदा ?
बिगत कति रमाइलो थियो । तिमी र म सबैभन्दा पहिले पुग्थ्यौं पानी भर्न पधेँरामा । गाउँलेको आँखाबाट लुकेर जूनको उज्यालोमा पधेँरामा भेटिनु, लजाइ लजाइकन निकै निकट हुनु र लामो सास फेरेर एक अर्कालाई हेरिरहनु, कति आनन्दका पल थिए ती । एक अर्कालाई अंगालोमा बाँधेर माया देखाउने मन हुँदाहुँदै पनि खै के ले रोक्थ्यो हामीलाई ।
पधेँरा माथि उकालोमा एक अर्कालाई हेर्दै उभिइरहेको बेला के तिमीले बिगत सम्झियौ ? थाहा छैन इनाम, बाटो अलग्गिइसकेको मान्छेलाई किन म पुरानै बाटोमा देख्न चाहन्छु ? जब जब तिमी ठोकिन्छौ मेरो बाटोमा तब किन लाग्छ अब हामी हिँड्ने बाटाहरु एकै हुन्छन् । हामीले देख्ने सपना, जिउने बिपना साझा हुनेछन् ।
इनाम, पधेँरामा तिमी भेटिएको दिन साह्रै मधुर बित्यो । रात उस्तै मधुर थियो । छातीमा सिरानी च्याापेर तिमीलाई महशुस गर्दै निदाएछु । प्रिय इनाम आँखामा निंद आउनु भनेको कति राम्रो कुरा रहेछ । त्यो रातपछिको बिहान कति हलुका मन लिएर ब्युँझिएँ म । तिमी भेटिनु अघिका बिहानहरु यति हलुका लाग्दैनथे । बिहान उठ्दा सुनिने चराका चिरबिर आवाज पनि कति कर्कश लाग्थे ।
पे्रमानुभूति कति सुन्दर रहेछ हगि इनाम । बिहानको प्रथम घाममा टल्किएको आँगन छेउको फूल जस्तै मोहक, आँधीपछि खुलेको आकाश जस्तै सुन्दर अनि प्रथम रजस्वलापछि रुप र वैंसले निखारिएकी किशोरी जत्तिकै आकर्षक हुँदोरहेछ । म यस्तै पे्रमानुभूति गरेर तिमीसँगै जिउन चाहन्छु । बियोगको चहर्याउने घाउ बोकेर बाँच्न मलाई मञ्जुर छैन ।
अब अगाडिको यात्रामा भेटिने काँडाहरु पन्छाएर तिमीसँगै अघि बढ्न चाहन्छु । तिमीसँगै अघि बढ्न खोज्नु कतै मुर्खता त हैन ? डर लाग्छ, कहीँ पुरानै घाउ फेरि नबल्झियोस् । म पुराना घाउहरु पुनः महशुस गर्न चाहन्न इनाम । हिजो तिमी नभेटिदा त्यै पुराना घाउ कोट्याइ कोट्याइ रगताम्य हुन पाउँदा छातीमा साह्रै मिठो महशुस हुन्थ्यो । तर आज जब ती घाउहरु सम्झन्छु छातीमा चसक्क बिझाउँछ । हो त इनाम तिमी भेटिएदेखि म घाउ र पीडाहरुसँग डराउने भएकी छु ।
हुन त इनाम, तिमी पाउने मुर्ख सपना मलाई किन देख्नुछ ? म तिमी बिना पनि अघि बढ्न सक्छु । एकपटक छातीमा भाला रोपेर हिँडेको मान्छे तिमी, फेरि तिमीसँगै किन यात्रा गर्नुछ मलाई ? जिन्दगीको महत्वपूर्ण पाँच वर्ष तिमीले दिएको चोटको रन्कोमै बिताएँ । के फेरि त्यै चोट नदोहोरिएला भन्न सकिन्छ र ? डरको कुरा न हो इनाम, मलाई डर लाग्छ तिमीसँग जोडिएपछि फेरि के होला ? यो पनि डर लाग्छ, तिमीसँग छुट्टिएर पनि कसरी बाँचुला ? हुन त यो पनि मेरो स्वार्थ हो । यदि तिमीलाई निस्वार्थ प्रेम गर्थेँ भने यति धेरै सोंच्दिनथेँ हुँला । के साँच्चै मेरो प्रेम पाउनुको संकुचित धारणामा कैद छ ? हिजो त लाग्थ्यो पाउनुको संकुचित घेरामा खुम्चदैन मेरो प्रेम । के त्यो आदर्शको खोक्रो मन्त्र थियो ? हैन हैन, इनाम मेरो प्रेम स्वार्थी छैन । म तिमीलाई खुसी देख्न चाहन्छु । यो सत्य हो कि, म तिमीलाई चाहन्छु । खाली महशुसमा मात्र हैन यथार्थमा मलाई तिमी चाहिन्छ ।
कसैलाई प्रेम गर्नु, चाहनु या पाउनु सजिलो कुरा हो । तर पे्रेम गरिरहनु, चाहिरहनु अनि पाइरहनु सजिलो कहाँ रहेछ र ? हिजोका दिनहरुले मलाई धेरै कुरा सिकायो । मैले भन्दा तिमीले मलाई बढी चाहन्थ्यौ हिजो तर तिम्रो चाह कति छिटो बदलियो इनाम । के चाहिँ त्यस्तो अपुग भयो र सम्बन्ध कमजोर बन्यो ? प्रेमका लागि त महशुस नै काफी हुन्छ भन्ने मान्छे तिमी के चाहिँ काफी भएन र मलाई त्याग्यौ ? मलाई त्यसको जवाफ पनि जान्नुछ इनाम, के काफी भएन ? मबाट तिमीले कस्तो अपेक्षा गरेका थियौ र के पाएनौ ? शारिरीक सुख, मानसिक खुसी चैन या अरु केही ? के पाएनौ ? मैले त तिमीबाट प्रेम चाहेकी थिएँ । प्रेम मात्र पे्रम । प्रेमपछि सुरु भएका चीज न बिशेष हुने हुन् हैन र इनाम ?
त्यो रात मलाई याद छ, पहिलो चुम्बन भएको रात । तिम्रो त्यो पहिलो थियो या थिएन सोधिन । तर त्यो मेरो पहिलो अनुभव थियो । त्यै रात हो मैले महशुस गरेकी, प्रेम जस्तै सुन्दर महशुस रहेछ चुम्बन पनि । त्यो एक चुम्बनपछि कति रातहरु तिमी महशुस गर्दै निदाएँ । कति मिठो महशुस, कति सुन्दर अनि कति अद्भूत ।
त्यही एकरातपछि हो मैले महशुस गरेकी, तिमी मात्र मेरो जिन्दगीको सारथी हुन सक्छौ । अब अगाडि पछाडि आउने पुरुषहरुका लागि जिन्दगीको ढोका सधैंका लागि बन्द हुनेछ । हो त इनाम, तिमीसँग छुट्टिनु अघि पराइ पुरुषका लागि बन्द भएको जिन्दगीको ढोका फेरि फेरि खुलेन । म किन यति जिद्धी भएँ ? एक चुम्बनको महशुसमा पुरै जिन्दगी कटाउन मुस्किल पर्छ भनेर जानीजानी किन त्यागिन त्यो हठ ? यो हठ त हो इनाम, एक चुम्बनले जिन्दगी कटाउन सम्भव छ र ? के तिमी जिन्दगीबाट गइसकेपछि पनि म कोही पुरुषको स्पर्शका लागि तड्पिइन र ? छिः म कस्तो हठी भएकी ?
जेहोस् तिमी गाउँ फर्किएका छौ । मेरा आसाका पंख पनि फट्फटाउन थालेका छन् । यदि तिम्रो जिन्दगीमा खाली ठाउँ छ भने उत्तर देऊ । के तिमीलाई इरासँगै जिन्दगीको बाटो नाप्न मञ्जुर छ ?

तिम्रो इरा ।

   

Dear Inam

SWAPNIL NIRAV स्वप्निल नीरव 

डियर इनाम,

साँझ झुलुक्क तिमीलाई देखेँ । मनै उज्यालो भयो । मानौं वर्षाैपछि कोही मेरो घरको ढोका खोलेर पसेको छ । ढोकाबाट कोही सँगै अलिकति न्यानो, स्वस्थ हावा र उज्यालो पनि प्रवेश गरेको छ । न्यानो उज्यालो र कसैको आगमनको महशुस साह्रै अद्भूत हुँदो रहेछ, हगि इनाम ।
पाँच वर्ष अघि छुट्टिएथ्यौ फेरि फेरि नभेटिने गरी । आज भेटियौं संयोगले । भेटको संयोगलाई संयोग ठानेर अघि बढ्न सकेनौ दुबै जना । केही मिनेटको देखादेख हेराहेर पछि मुस्कान छोड्दै बिदा भयौ तिमी । अहो ! तिम्रो मुस्कानको प्रभाव ममा अभैm कायम रहेछ । हेर त पहिले जस्तै हुरुक्क भएर मन तिमीलाई नै पछ्याउन थाल्यो । छोइन छोडेको मन पनि छोइयो । कस्तो अद्भूत महशुस ।
डियर इनाम, तिमी महशुस हुनु भनेको ज्यूँदो छु भन्ने प्रमाणित हुनु पनि रहेछ । तिमी भेटिनु अघिसम्म ज्यूँदो छु भन्नका लागि मात्रै ज्यूँदो महशुस बोकेर बाँचिरहेथेँ । भर्खर तिमीलाई भेटेपछि थाहा भयो, म साँच्चै ज्यूँदो छु । मभित्रका भावनाहरु ज्यूँदा छन् । तिमीतिर हुरुक्क भएर कुँद्ने मन पनि ज्यूँदो छ ।
वर्षाैपछि गाउँ सम्झिएर फर्किएछौ । पछाडिबाट तिमीलाई रोकेर सोध्न मन थ्यो –जसरी मारेथ्यौ मेरो माया उसैगरी गाउँको माया मार्न किन सकेनौ ?
हुन त तिमी नफर्कदो हौ त तिमी भेटिने थिएनौ । तिमी नभेटिदो हौ त हुरुक्क हुने थिएन मन । पलाउने थिएन तिमी छुन रहरका पखेटा ।
डियर इनाम म प्राकृतिक मान्छे । मेरा रहरहरु पनि चैतबैशाखको आँधीहूरी जस्तै अराजक भइदिन्छन् । डर छ मनमा, कहीँ यी अराजक रहर हूरी भएर तिमीलाई बिथोल्न नपगुन् ।
हामी किन कसरी छुट्यौ भन्ने कुरा बिर्सन चाहन्छु । आज तिमी भेटियौ, जिन्दगी भेटियो । र कामना गर्छुु तिमी भेटिइरहनु । ठीक छ, दूरी कायम नै रहोस् । तर तिमी भेटिइ नै रहनु ।
यो चिठी लेखिरहँदा लागिरहेछ, तिमी छोएर बहने बतासले बिहान बिहानै मलाई स्पर्श गर्न आउनेछ । तिमी छोइएर सुरु भएको दिन कति सुखद हुन्छ होला ? यस्तो कल्पना मात्र पनि कति सृन्दर लागिरहेछ । हुन त मेरा आफ्नाहरु स्पर्शलाई गलत अर्थ लगाउछन् । उनीहरु बुझ्दैनन् म पुरुष स्पर्शलाई जोड दिन्न । म त पे्रमिल स्पर्शमा बिश्वास गर्छु । प्रेमले स्पर्श गरेको त गाईभैंसीले पनि बुझ्छन् । तिमीलाई थाहा छ, गाईभैंसीलाई मायाले मुसार्दा पुच्छर उचालेर शरीरको रौं ठाडो पार्छन् । तर लौरीले हिर्काउदा उफ्रेर दाम्लो चुँडाउला जस्तै गर्छन् ।
डियर इनाम, हामी एक भइदिएको भए जिन्दगी सुन्दर हुने थियो । सुर्याेदय होस् या सूर्यान्तको बेला होस् सँगै हुने थियौं । उज्यालोमा जो पनि साथमा भइहाल्थे । तर सूर्यान्तको बेला पश्चिम रातो हुँदै जाँदा सँगै अँध्यारिन तिमी तयार हुन्थ्यौ । तिमीसँगै अँध्यारो यात्रामा निस्कन म तयार रहन्थेँ । तिमीसँगै उदाउनु जति सुन्दर लाग्छ उत्तिकै सुन्दर अस्ताउन पनि लाग्छ ।
नसोध पाँच वर्ष कसरी बितायौ भनेर । थोरै आशा धेरै निरासा बोकेर बाँचेँ । मर्न मन थिएन, तिमी बिना बाँच्न पनि मञ्जुर थिइन । मर्न नदिन दुइचार आफ्नाहरुले छेकिरहन्थे मृत्युको बाटो । इनाम, ज्यूँदो थिए र पो तिमीलाई भेट्न पाएँ, तिम्रो उज्यालो अनुहार देख्न पाएँ । तिमीलाई सञ्चै भेट्न पाउनु मेरो अहोभाग्य ।
इनाम तिमीलाई माया गर्छु । किन गर्छु, नसोध । चुपचाप गरिरहन्छु ।

अन्तमा धन्यवाद ती साँच्चैका आफ्नालाई जसले मृत्युको मुखसम्म पुग्नै दिएनन् । जा मर भनेर छोडिदिएको भए यो उज्यालो साँझ कहाँ देख्न पाउने थिएँ । इनाम, तिमीलाई पनि धेरै धेरै धन्यवाद । मायााप्रेमको महशुस तिमीले नगराएको भए प्रेम यति सुन्दर लाग्ने थिएन

तिम्रो इरा ।

बिना रानीको कथा

स्वप्निल नीरव

राजारानीको कथा मैले खास सुनिन । सानो छँदा बाजे र बाले जहिल्यै भूतप्रेत र बोक्सीकै कथा सुनाउनुहुन्थ्यो । आमा लोकगीतका टुक्राटुक्री मात्रै सुनाउनुहुन्थ्यो । बाजेको कथा सुन्न हामी गोलो भएर बस्थ्यौं । कथाको कलाइमेक्ससम्म आइपुग्दा म सबैको बीचमा पुगिसकेको हुन्थेँ । डरले मुटु काँपिरहेको हुन्थ्यो । तर कथा सुन्ने बानी यसरी बिकसित भएको थियो कि, बाजेको कथा नसुनी चित्त बुझ्दैनथ्योे । राजारानीको कथा त कथा सुन्न र पढ्न थालेको धेरैपछि मात्र पढेँ । मुमताज शाजहाँको कथा, हीर राँझाको कथा । र पछिल्लो पटकरानी तेजकुमारी र राजा खड्ग शमशेरको कथा । शाहजहाँले मुमताजका लागि ताजमहल बनाए रे । खड्ग शमशेरले चाहिं रानीमहल । ताजमहल धेरै पटक पढेको छु । कल्पनामा कहिले काँही प्रियसँग त्यहाँ पुगेको पनि छु । के गर्नु ? कुनै कुनै कथा र कथाका पात्रले यसरी लोभ्याउछ कि, त्यही कथाको जीवन बाँच्न मन लाग्छ । पात्रको अनुभूति बोकेर हिंड्न मन लाग्छ । रानीमहलको बारे चाहिँ धेरैपछि मात्र पढेँ । भनिन्छ नि, नजिकको तिर्थ हेला । यस्तै ठान्नुस् । आफ्नै आँगनको अर्थात आफ्नै ठाउँकोबारेमा धेरै पछि मात्र पढेँ । नजिकका साथीभाइ भेला भएको बेला यसको प्रसङ्ग चल्न थालेपछि रानीमहलसँग झनै गहिरो प्रेम भयो । तर परिस्थिति यस्तो भइदियो कि, त्यहाँसम्म पुग्न वर्षाै प्रतिक्षा गर्नु पर्‍यो ।

ब्यक्तित्व जत्तिकै आकर्षक लाग्छ उहाँका कविता । उहाँ अर्थात बिना तामाङ । सुरुवात ताका कथा विशेष लाग्थ्यो । तर पछि कथा जत्तिकै उहाँको ब्यक्तित्व आकर्षक लाग्न थाल्यो ।‘छुकी’ कथा संग्रह सुरक्षित छ मसँग । मैले तिब्बत नैनासँग उहाँको बारे खुब चर्चा पनि गरेँ । कसैबाट प्रभावित भएपछि उसको चर्चा गर्नु स्वभाविक हो । केही वर्ष काठमाडौ टिकेको भए उहाँको नजिक जान्थेँ हुँला । थुप्रै कवितात्मक सहयात्रा जुर्थ्यो होला । तर मैले काठमाडौ छाडेँ । अनि हराएँ बालुवामा पानी हराए झै । म हराएपछि उहाँका कविता आउन थाले । ‘रातो घर’ कविता संग्रह पनि आयो । उहाँको ब्यक्तित्व र कथाबाट कवितातिर ध्यान मोडियो । फोन च्याटबाटै भएपनि निकटता कायम राख्ने कोशिस गरेँ । यही निकटताकै परिणती हुनुपर्छ । एकदिन भन्नुभयो —पाल्पा आउँछु । मैले सोधिहालेँ—पाल्पा आएर के हेर्ने ? उहाँको जवाफ थियो—रानीमहल र श्रीनगर ।

श्रीनगरको डाँडोमा बसेर प्रियको कल्पना गर्दै कविता लेख्दाको थुप्रो अनुभव छ मसँग । मलाई यस्तो लाग्छ, पुरै रात गुजारुँ प्रियसँग त्यहाँ । र एउटा गतिलो कविता लेखुँ प्रेम र प्रकृति मिलाएर । के बिना तामाङहरु पनि कविता र प्रेम खोज्न आउदैछन् रानीमहल र श्रीनगरमा ?

कच्ची सडक धुलौटे बाटो भएर बिना तामाङ र डोल्मा लामा रामपुर आउनु भयो । राजधानीको सडकमा गुड्ने बानी लागेकाहरुका लागि तीन हात माथि उफ्रने गाडी चढ्नु,त्यो पनि धुलाम्मे सकडमा मुस्किल थियो । यद्यपि बिना र डोल्मा आउनु भयो रामपुर । डोल्मा लामासँग खास पुरानो चिनजान थिएन । यद्यपि जब भेटेँ । लाग्यो— कञ्चन हिउँखोला हो डोल्मा । जसमा पौडिने रहर धेरैमा हुन्छ । तर त्यो मौका कमैलाई जुर्छ । त्यस्ता कञ्चन बगाइ डोल्माहरुमै मात्र हुनसक्छ । ढुङ्गाहरुको ठेस् बिर्सेर पाखा पर्वतहरुलाई डाह लाग्ने गरी बग्न सक्ने खुबी र हिम्मत कमै हिउँखोलाहरुमा हुन्छ । त्यै हिउँखोला हो डोल्मा ।

साँघुरो सडक, कोचाकोच मान्छे । सिलुवा पुग्दा एउटा मान्छे गाडी चढ्यो । मैले सोधेँ—कहाँबाट आउनुभयो ? उसले भन्यो—ओ अर्चलेबाट आउनुभाको । म हाँसेँ आफैसँग । मगर कुरा ज्यादा बोल्ने मान्छे कहिले काँही अरुलाई सम्मान गर्छु भन्दा आफ्नै सम्मान हुन्छ । मगर कुरामा तिमी तँ तँपाई हजुरको खास भेद हुँदैन । अतः खस कुरा बोल्दा पनि झुक्किने सम्भावना ज्यादा हुन्छ । त्यो मान्छेले झोलामा बेलौती बोकेको थियो । ऊ चढेदेखिनै बेलौतीको बासना आइरहेथ्यो ।
बडो मुस्किल भयो तानसेनसम्म पुग्न । मलाई त जिऊ बिसाउन मन थियो । तर डोल्मा र बिनाको श्रीनगर जाने रहर । ट्याक्सीले श्रीनगर पुर्‍यायो । तर रात उदाइसक्यो । कति रहर थियो श्रीनगरको डाँडोमा लगेर तानसेन बजार, मदनपोखरा माडीफाँट देखाउने । चैतबैशाख लागेपछि डाँडै रात्तिने गरी गुराँस फुल्ने पाखा देखाउने । पाल्पाली ढाका र करुवाको महत्व बुझाउने । श्रीनगरको डाँडोमा बसेर दुइचार प्रेम कविता सुन्ने । र सुनाउने पनि । तर रात उदाइहाल्यो । मैले त भनेको पनि हुँ—हजुरहरुलाई डर लाग्दैन भने जूनको उज्यालोमा पनि श्रीनगर देखाउन सक्छु । तर उहाँहरुलाई डर लाग्यो । डर त्यहाँ भेटिएका ठिटाहरुसँग थियो या आफैसँग ? यो प्रश्नको जवाफ त बिना डोल्मासँग नै होला । मलाई भने खास डर लागेको थिएन । सत्य भनुँ ? मलाई डर कमै लाग्छ । अझ एक दुइ साथी साथ भएको बेला त झन् लाग्दै लाग्दैन । केटाहरुले हमला गरिहाल्यो भने फाइट ब्याक गर्न सक्छु जस्तो लाग्छ । तर जहीं तहीं खतरा मोलिहाल्न सकिन्न । अझ रातको बेला एकान्त कुरी बस्नेहरुसँग त झन् जोखिम हुन्छ ।
राती पटक्क निंद परेन । दुबै कविता लेख्न बस्यौं । उहाँको त तयार भइहाल्यो तर मेरो त केही हरफ केरिए मात्रै । जवरजस्ती पनि कविता लेखिने चीज हो र ? दश बजेतिर दुबै तामाड्डनीहरु निदाउनु भयो । तर मगर्नीलाई निंद परेन । टाउको घुमाइरह्यो । भोलि भयो । जाँगर पटक्क थिएन ममा । तर फेरि ओरालियौं रानीमहल तर्फ । चिसो मौसम, कच्ची सडक भएर रानीघाटसम्म पुग्दा मेरो जिउको तागत सबै हराइसकेको थियो । तर त्यहाँको मौसम र बिना डोल्माको उत्साहमा यस्तो मादकता थियो कि, म पनि रमाउन थालेँ । हल्ला नगरी बगिरहेकी काली, कालीको किनारमा उभिएर थपक्क बसेको रानीमहल । अझ त्यसै माथि बिना डोल्माको भर्खर भर्खर चढ्दै गरेको बैशालु उत्साह । यस्तो लाग्यो, यी दुइ जीवन बाँचिरहेछन् कि ? मलाई जीवन बाँच्न सिकाइरहेछन् ? दुइ जना रानीमहलका चोटा कोठा चहार्दै दर्गुन थाल्नुभयो । भर्खर उदाएको सूर्यनारानको तातो स्पर्श पाएर म पनि तङग्रिएँ । हामी कालीको छेऊमा धेरैबेर गफियौं । प्रेम आफै मा सुन्दर नाम हो । अझ यसको अनुभूति त झनै सुन्दर हुन्छ । एकदमै कमलो, सुवासित र लचिलो । रानीमहलले प्रेम ब्युँताइदियो । म कल्पना गर्दैथेँ, यहाँ मेरो प्रिय भएको भए मेरो अनुभूति पनि रानीको भन्दा कम हुने थिएन । तर त्यो कल्पना पनि यस्तो तितो कि, निलुँ कि ओकलुँ जस्तो । रानीमहलको छेऊको भिरको रुखमा झुण्डिएको लहराको तीन वटा फल टिपेर ढुंगालो त्यसमा स्वप्निल बिना अनि डोल्मा लेखेँ । अल्लारे छँदा हाम्रा साथीहरु केत्तुकेमा मन परेको मान्छेको नाम लेख्थे फलाना+फलाना भनेर । म पनि केही क्षणका लागि अल्लारे बनेँ ।
महलको चारैतिर पारिजात फुलेर सेताम्मे झरेका । यी पारिजातहरु पनि म जस्तै कमजोर हुन्छन् । फुल्ने हिम्मत त गर्छन् । फुलिरहने हिम्मत गर्दैनन् । अझ भनुँ, फुलेर मस्त यौवन छर्दै भमराको स्पर्श सहने हिम्मत गर्दैनन् । त्यै झरेको पारिजातलाई डोल्मा र मैले झारमा उनेर बनाएको सुन्दर माला बनाएर पहिराइदियौं बिना रानीलाई । उहाँ रानी भन्दा कम हुनुहुन्छ र ? डोल्मा रानी या कुनै परी भन्दा कम हुनुहुन्छ र ?रानीमहलको विशाल प्रकृतिको अगाडि उहाँहरुको चञ्चलता र गुनगुनले परीको सम्झना दिलाइरहेथ्यो ।
नदीपारि स्याड्डजा । पारिपट्टि बिशाल जंगल छ । पारि जाने एउटा पुल छ । पुल त बिना र म बीच पनि छ । कविता कथाको पुल । पुल तरेर गइयो भने ओ माथि स्याङ्जाको डाँडामा आलमदेवीको मन्दिर छ । हिंडेर कम्तीमा डेढ दुइ घण्टामा त अवस्य पुग्थेँ । तर बिना डोल्माको हिम्मत होला त्यहाँसम्म हिंडेर पुग्ने ? मसँग त अभ्यास छ उकालो ओरालोको । अतः त्यसैले भनेको उहाँहरुसँग त यस्ता हिंडाइको अभ्यास छैन ।
शाह राजाहरुको कुलदेवताको रुपमा परिचित आलमदेवीको मन्दिरमा केही वर्ष अघिसम्म शाह परिवार आएर पुजा गर्थेरे । अहिले शाहहरुको अहम पनि ढल्यो । र आलमदेवीमा शाहहरुले पुजा गर्ने चलनको पनि अन्त भयो । पुलको नजिकै भिरमा एउटा सानो झुपडी छ खरले छाएको । झुपडीमा थिइन् एउटी आमा । साठी निख्रिइसकेकी ती आमामा अझै जिन्दगीसँग जुध्ने हिम्मत छ । यस्ता कति आमाहरु छन् जसको जिन्दगीको खम्बा कमजोर भइसक्यो । तर ठड्याउने कोशिस गरिरहन्छन् । भिरमा लहरिएका बन्कसी ल्याएर चुहिएको छानो छाउने हिम्मत गर्छन् । हिम्मत र जिन्दगी त तिनै आमा बाहरुबाट सिकिन्छ ।

रानीघाटबाट तानसेन फर्केपछि टुडिखेल छेवैको रुखको छहारीमा सुस्तायौं । तर समय यस्तो निष्ठुर कि, क्षणमै हामीलाई अलग पार्न तम्सिइहाल्यो । अरुको जहान परिवारलाई आफ्नै ठानेर रोक्न कसरी सक्थेँ । जिन्दगीमा यस्ता भेटघाट र रमाइलोका अलावा पनि कति महत्वपुर्ण दैनिकी हुन्छ । उहाँहरुको पनि आफ्नै जिन्दगी र दैनिकी थियो । अघिल्लो साँझ उहाँको छोरोले आफ्नो टाइ, अरु पनि सामान कहाँ छ भनेर फोनबाट जानकारी लिंदै थियो । यसबाट प्रमाणित हुन्छ कि, एउटी महिलाले घर छोेडेर हिंडेपछि कति काम बित्छ । ऊ त सानो बच्चा भइहाल्यो । ठाउँ ठाउँमा सस्तै घरहरु छन् जहाँ श्रीमती बिना श्रीमानको टाइ भेटिन्न । जुत्ता मोजा भेटिन्न । मेरी एउटी साथी छे । त्यो पनि लेख्थी । तर श्रीमानको सेवा, सानो नानीको सेवा घरधन्दा र जागिरले उनको लेखनलाई नै ओझेलमा पारिदियो । बिना तामाङ सायद ती हराइहाल्ने वा आसा मारिहाल्नेमा पर्नुहुन्न । वा उहाँलाई घरपरिवार र श्रीमानबाट सहयोग होला र त यहाँ हुनुहुन्छ । नत्र उहाँलाई पनि घरधन्दा र जागिरले खाइसक्थ्यो । र कवि कथाकार बिना तामाङ ओझेलमा परेर एउटी श्रीमती या आमा बुहारी बिना तामाङ मात्र बाँकी रहने थियो । अनि म ? के म हराउनेमा पर्छु ? बारम्बार आफैसँग सोध्ने गर्छु । र जवाफ दिन्छु आफैलाई -नाइ हराउनेमा पर्दिन । तर कस्तो अमिलो जवाफ । जो आफैलाई चित्त बुझेन ।

Design a site like this with WordPress.com
Get started